काठमाडौं । भारत, चीन र अमेरिकाजस्ता शक्तिशाली मुलुकका उच्च तहका प्रतिनिधिसँग रास्वपा सभापति रवि लामिछानेको संवाद पछिल्लो समय बढ्दै गएको छ।
सत्तारुढ दलका सभापतिका रूपमा लामिछानेले यी मुलुकका उच्च तहका अधिकारीसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउँदै आएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग विदेशी कूटनीतिज्ञहरूको भेटघाट सुरु भए पनि शक्तिराष्ट्रका उच्च अधिकारीसँगको सम्पर्कमा लामिछानेको सक्रियता उल्लेखनीय देखिएको छ। सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लामिछानेलाई फोन गरी रसुवाको बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन्। रास्वपा स्रोतका अनुसार रुबियोले विपद्को यो कठिन अवस्थामा नेपाललाई अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए। लामिछानेले पनि नेपालको संकटप्रति चासो व्यक्त गर्दै सहयोगको आश्वासनका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २० जेठमा लामिछानेलाई नयाँ दिल्ली बोलाएर भेटवार्ता गरेका थिए। लामिछानेले पार्टीको प्रतिनिधिमण्डलसहित मोदीका साथै भारतको सत्तारुढ भाजपाका शीर्ष नेताहरूसँग समेत छलफल गरेका थिए। त्यसपछि नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण भएको थियो। चिनियाँ पक्षले पनि लामिछानेलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएको थियो। सुरुमा अगस्टका लागि प्रस्ताव गरिएको भ्रमण आन्तरिक कारण देखाउँदै सेप्टेम्बर दोस्रो सातातर्फ सारिएको थियो। तर भोटेकोशी बाढी तथा अन्य कारणले अहिले उक्त भ्रमण स्थगित भएको रास्वपा स्रोतले जनाएको छ। उपयुक्त समयमा भ्रमण हुने तयारी रहेको बताइएको छ।
रास्वपा स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिसँग भेटवार्ताको सम्भावना तथा अर्थपूर्ण एजेन्डाको तयारीका कारण भ्रमणको विषयमा थप गृहकार्य भइरहेको छ। प्रधानमन्त्री शाह भने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा छन्। त्यहाँ विश्वका विभिन्न नेतासँग भेटवार्ता तथा नेपालको धारणा राख्ने कार्यक्रम तय हुने बताइएको छ।
कूटनीति अध्येता तथा पत्रकार सुधीर शर्माका अनुसार शक्तिराष्ट्रहरूले औपचारिक कूटनीतिक प्रोटोकलभन्दा पनि सम्बन्ध, पहुँच र वास्तविक राजनीतिक शक्तिको अवस्थालाई ध्यान दिएर संवाद अघि बढाउने गर्छन्। लामिछाने सत्तारुढ दलका प्रभावशाली नेता हुनुका साथै प्रधानमन्त्री शाहसँग सहज पहुँचमा नरहने राजनीतिक शैली पनि यसको एउटा कारण हुन सक्ने उनको विश्लेषण छ। उनका अनुसार प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामै जाने तयारीमा रहेकाले अमेरिकी पक्षबाट लामिछानेसँग भएको पछिल्लो संवादलाई पनि त्यही कूटनीतिक सन्दर्भमा हेर्न सकिन्छ। यसअघि फागुनमा भएको निर्वाचनमा रास्वपाले ठूलो सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँगै लामिछानेसँग पनि संवाद गरेका थिए। पछिल्लो समय अन्य मुलुकले समेत रास्वपा सभापति लामिछानेलाई प्राथमिकता दिँदै संवाद अघि बढाइरहेको देखिन्छ।
