काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ।
अग्रवालको रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो। उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको तर्फबाट दीपा अग्रवालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। गत साउन ७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको वाणिज्य इजलासले अग्रवाललाई नख्खु कारागार पठाउने आदेश गरेको थियो। अदालतको आदेशअनुसार, जगदम्बा स्टिलको खाता सञ्चालनको अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा तोकिएको उद्देश्यमा प्रयोग नगरी अन्यत्र लगानी गरेको देखिएको छ। उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गतको कसुर हुन सक्ने अदालतको ठहर छ।
अग्रवालको बैंक खाता प्रयोग गरेर जटिल वित्तीय कारोबार गरिएको तथा त्यसबाट बैंकिङ प्रणालीमा जोखिम सिर्जना भएको भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई थुनामै राखेर प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएको थियो। जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा रहेको कन्सोर्टियम बैंकबाट चालु पुँजी कर्जा लिएको थियो। तर उक्त रकम निर्धारित व्यावसायिक प्रयोजनमा खर्च नगरी जग्गा खरिद तथा अन्य कम्पनीको सेयरमा लगानी गरिएको आरोप छ।
