काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा आफ्नो भनाइबारे स्पष्टीकरण दिँदै मन्त्री गौतमले अभिव्यक्तिका कारण पर्न गएको असहजताप्रति माफी मागेकी हुन्। जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माण प्रक्रियामा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त भनाइको संसदीय समिति तथा राष्ट्रिय सभामा समेत आलोचना भएको थियो।
स्पष्टीकरण दिने क्रममा गौतमले आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको भन्न नखोजेको स्पष्ट पारिन्। आफू राजनीतिक व्यक्ति भएकाले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा विवाद उत्पन्न भएको उनको भनाइ थियो। कानून निर्माण प्रक्रिया आफैंमा जटिल हुने वास्तविकतालाई राजनीतिक दृष्टिकोणबाट व्याख्या गरिएको भन्दै उनले असन्तुष्टि जनाइन्। मन्त्री गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताइन्।
