यूएईलाई ४४ रनले हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ।

शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै समेटियो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन जोडे। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालको इनिङ्समा आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको ओडीआई करियरको दोस्रो शतक हो। आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन र रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। नेपालका लागि गुल्शन झाले पनि आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए। यूएईका इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले समान १ विकेट हात पारे। नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै हराएको थियो। यसपटकको जितसँगै नेपालले प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा पनि आफ्नो स्थान पक्का गरेको छ।

Back To Top
Modern Footer Design