काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने भएको छ।
बैठकमा परराष्ट्र मन्त्रालयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न संसदीय विषयगत समितिका बैठक पनि बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ।
