आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयू कक्षमै पुगेर बिरामीको अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले आईसीयू गम्भीर अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको संवेदनशील कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ ।’ सांसद बास्कोटाका अनुसार आईसीयूमा बिरामीको परिवारका सदस्यलाई समेत निश्चित समय र स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार मात्रै भेट्न दिइन्छ । यस्तो अवस्थामा अन्तर्वार्ताका लागि आईसीयूभित्रै प्रवेश गर्नु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय भएको उनको भनाइ छ ।

उनले मानिसको जीवन र स्वास्थ्यभन्दा ठूलो कुनै पनि विषय हुन नसक्ने भन्दै अस्पतालको संवेदनशीलता र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्नुपर्नेमा जोड दिइन् । यसअघि यही विषयमा प्रेस काउन्सिल नेपालले समेत ध्यानाकर्षण भएको जनाएको थियो । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएका थिए ।

रसुवा बाढीमा परेर माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको संरचनाबाट करिब १० दिनपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिइएको थियो । उक्त अन्तर्वार्ता ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । आईसीयूजस्तो संवेदनशील कक्षमा स्वास्थ्य प्रोटोकल, बिरामीको गोपनीयता र पत्रकारिताका मर्यादाबीच सन्तुलन कायम गर्नुपर्ने विषय अहिले सार्वजनिक बहसको विषय बनेको छ ।

Back To Top
Modern Footer Design