काठमाडाैँ । जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने नेपालको लक्ष्यअनुसार सरकारले यस्तो निर्णय गरेको हो।
२ असोज, काठमाडौं । सरकारले प्राचीन संरक्षण ऐन, २०१३ को व्यवस्था टेकेर रामजानकी मन्दिर तथा त्यस आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयबाट मन्दिर क्षेत्रको चार किल्ला निर्धारण गरी परिक्रमा पथलाई समेत संरक्षित क्षेत्रको सीमाभित्र समेटिएको छ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार संरक्षित क्षेत्रको पूर्वतर्फ जनकपुरको भानु चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयतर्फ जाने सडक तथा त्यसपछि दक्षिणतर्फको परिक्रमा पथलाई सीमा तोकिएको छ। त्यस्तै, पश्चिमतर्फ भमरपुरा चोकबाट याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप र हनुमान मन्दिर हुँदै उत्तरतर्फ जाने परिक्रमा पथलाई सीमामा समेटिएको छ।
उत्तर दिशातर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक, मधेस प्रदेश भवन, मिल्स एरिया हुँदै भानु चोकसम्मको सडकलाई सीमा निर्धारण गरिएको छ। दक्षिणतर्फ भने जनकपुरधामको मुरली चोकस्थित विद्यापति स्मारकदेखि भमरापुरा चोकसम्मको सडकलाई संरक्षित क्षेत्रको सीमामा राखिएको मन्त्रालयले जनाएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो। अब उक्त क्षेत्रमा भवन निर्माणलगायतका गतिविधिमा तोकिएका संरक्षणसम्बन्धी मापदण्ड लागू हुनेछन्। जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने नेपालको लक्ष्य छ। त्यसका लागि आवश्यक प्रक्रियाअन्तर्गत मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको बजेटमा पनि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटिएको छ।
