काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले केही प्रमुख सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि अमेरिकाका ठूला टेलिभिजन नेटवर्कहरूले सोमबार राष्ट्रपतिका कार्यक्रमको साझा प्रसारण अर्थात् ‘पुल्ड कभरेज’ बहिष्कार गरेका छन्।
ह्वाइट हाउसले शुक्रबार सीएनएन, पोलिटिको र एमएस नाउका पत्रकारलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘काल्पनिक कुरा वा झूट’ लेखेको आरोप लगाउँदै प्रतिबन्ध लगाएका थिए। त्यसको भोलिपल्ट ती संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेश गर्न नदिइएको बताइएको छ। यस निर्णयविरुद्ध सीएनएन, पोलिटिको र एमएस नाउले ट्रम्प प्रशासनविरुद्ध कानुनी कदम अघि बढाएका छन्। उनीहरूले सरकारलाई प्रेसले के रिपोर्ट गर्ने भन्ने निर्णय गर्ने अधिकार नहुने सिद्धान्तको रक्षा गर्न आफूहरू अदालत गएको बताएका छन्।
यसैबीच, ह्वाइट हाउसले आफ्नै स्ट्रिमिङ च्यानल ‘ट्रम्प टीभी’ सञ्चालनमा ल्याएको छ। उक्त च्यानलमा राष्ट्रपतिका गतिविधिसँग सम्बन्धित भिडियोहरू चौबीसै घण्टा प्रसारण गरिने बताइएको छ। ह्वाइट हाउसको कदमको विरोधमा अन्य अमेरिकी सञ्चारमाध्यमले पनि राष्ट्रपतिका कार्यक्रमको साझा कभरेजमा सहभागी नहुने घोषणा गरेका छन्। न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टलगायतका सञ्चारमाध्यमले सोमबार ट्रम्पका कार्यक्रमका स्थिर तस्बिरसमेत साझा नगर्ने बताएका थिए।
यसको प्रभाव सोमबार देखियो। ट्रम्प एयर फोर्स वन चढेको तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेको दृश्य टेलिभिजन नेटवर्कहरूमा साझा रूपमा प्रसारण भएन। ट्रम्पले ह्वाइट हाउसको साउथ लनमा निर्माण गरिएको नयाँ ‘मरिन वन’ हेलिप्याडको उद्घाटन कार्यक्रममा रिबन काट्ने समारोहमा पनि सहभागिता जनाएका थिए। कार्यक्रम ह्वाइट हाउसको वेबसाइटबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। तर प्रसारणका क्रममा ट्रम्पले बोलेका कुरा भने स्पष्ट रूपमा सुनिएनन्।
पछि न्यूयोर्कका मेयर जोहरान ममदानीसँग भेटपछि ट्रम्प टेलिभिजनमा देखिएका थिए। भेटका क्रममा ममदानीले सबै सञ्चारमाध्यमलाई पत्रकार सम्मेलनमा सहभागी हुन स्वागत गरिने बताएका थिए। ट्रम्पले भने सञ्चारमाध्यमले आफूलाई बहिष्कार गर्ने घोषणा गरे पनि विगतमा त्यसो नगरेको भन्दै आफूलाई त्यसबारे खासै चिन्ता नभएको प्रतिक्रिया दिएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यक्रमको ‘मिडिया पुल’ प्रणालीअन्तर्गत विभिन्न सञ्चारमाध्यमले लागत र स्थान बचत गर्न समाचार सामग्री आपसमा साझा गर्छन्। तर सोमबार यही साझा कभरेज प्रणाली नै रोकिएको हो।
फक्स न्युजका वासिङ्टन ब्युरो प्रमुख ब्रायन बाउटनले सञ्चारमाध्यमलाई पठाएको इमेलमा सोमबारदेखि ट्रम्पका तोकिएका कार्यक्रमको ‘पुल कभरेज’ नगरिने जानकारी दिएका थिए। उनका अनुसार ह्वाइट हाउसले सीएनएनलाई ट्रम्पको न्यूयोर्क भ्रमणका क्रममा आफ्नो जिम्मेवारी पूरा गर्नबाट रोकेपछि यस्तो निर्णय गरिएको हो। यसैबीच, ह्वाइट हाउसबाट प्रतिबन्धित तीन सञ्चारमाध्यमले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा संयुक्त रूपमा मुद्दा दायर गरेका छन्।
संयुक्त विज्ञप्तिमा उनीहरूले कुनै पूर्वसूचना वा कानुनी प्रक्रिया बिना नै आफ्नो रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै ह्वाइट हाउसले पत्रकारहरूको प्रवेश अनुमति रद्द गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यो कदमलाई चुनौती नदिइएमा प्रेस स्वतन्त्रता र सरकारी हस्तक्षेपबाट स्वतन्त्र पत्रकारिता गर्ने जनताको अधिकारमा असर पर्न सक्छ।
