अनुहार देखिएकै आधारमा थुनामा राख्न मिल्दैन, दसैँअघि रिहा गरियोस् : सांसद सेञ्चुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई कानुनी प्रक्रिया पूरा गरेर दसैँअघि नै घर फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आन्दोलनमा सहभागी भएको वा क्यामेरामा अनुहार देखिएको मात्रै आधारमा युवाहरूलाई लामो समयसम्म थुनामा राख्नु उचित नहुने बताइन्। सांसद सेञ्चुरीले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूको विषयमा आफूहरूले सम्बन्धित मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराए पनि अझै समाधान ननिस्किएको बताइन्। उनले सरकार कुन प्रक्रियामा रोकिएको हो र कसको निर्णयको प्रतीक्षा भइरहेको हो भन्नेबारे स्पष्ट पार्न माग गरिन्।

उनले भनिन्, ‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नै घरको आँगनसम्म पुग्न पाएका छैनन्।’ दसैँ नजिकिँदै गर्दा आफ्ना सन्तान घर फर्किने आशामा परिवारहरू प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले मानवीय संवेदनालाई समेत ध्यान दिन सरकारलाई आग्रह गरिन्। कानुनले अनुमति दिएको अवस्थामा सरकारले आवश्यक उदारता देखाउँदै थुनामा रहेका युवाहरूलाई दसैँअघि नै घर फर्कने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। उनले आन्दोलनमा सहभागी युवाहरूको विषयलाई थप ढिला नगरी टुंगोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइन्।

Back To Top
Modern Footer Design