काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढेर सतह पार गरेपछि नदी आसपासको क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले नदी किनारमा पुग्ने तथा सवारीसाधन पार्किङ गर्ने कार्य नगर्न सार्वजनिक रूपमा सचेत गराउँदै आएका छन्। महानगरपालिकाले जोखिमयुक्त नदी किनारका क्षेत्रमा निगरानीसमेत बढाएको छ। नदी आसपास पार्किङ गरिएका सवारीसाधन हटाउने तथा सम्भावित जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउने काम भइरहेको जनाएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ। भारी वर्षाले मुख्य राजमार्गका केही खण्डमा समेत यातायात प्रभावित भएको छ। सम्भावित दुर्घटना र जोखिमबाट बच्न नदी किनार तथा पानीको बहाव बढेका क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
