काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि बाढीको जोखिम उच्च बनेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ बजे नदीको पानीको सतह ८.९८ मिटर पुगेको छ।
देवघाटमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। यसअघि ७.३ मिटर पुगेपछि चेतावनीको तह पार हुने भए पनि नारायणीले शुक्रबार राति नै उक्त सीमा पार गरिसकेको जलमापन केन्द्रले जनाएको छ। नदीको सतह अझै बढ्दो क्रममा रहेको बताइएको छ। पानीको बहाव बढेसँगै नारायणी नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजानुका साथै नदी किनारमा नजान माइकिङसमेत भइरहेको छ।
नारायणी नदीको बाढीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका जोखिममा रहेका छन्। त्यस्तै, कालीगण्डकी नदीको बाढी र पहिरोका कारण बौदिकाली तथा बुलिङटार गाउँपालिकामा पनि जोखिम बढेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। यसैबीच, नवलपुरको त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको बहाव बढेपछि ३६ वटै ढोका खोलिएको छ। इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालका अनुसार ब्यारेजमा पानीको बहाव ३ लाख ४०० क्युसेक पुगेको छ। ब्यारेजमा ३ लाख क्युसेक पानी पुगेपछि चेतावनीको तह मानिन्छ।
पानीको सतह बढेपछि गण्डक ब्यारेजबाट नेपाल र भारततर्फ जाने दुवै नहरमा पानीको प्रवाह पूर्ण रूपमा बन्द गरिएको छ। ब्यारेजको माथिल्लो भागमा पानीको सतह ३५९.२ फिट तथा तल्लो भागमा ३५७.६ फिट पुगेको जनाइएको छ। पानीको बहाव तीव्र भएपछि सुस्ताका केही भूभाग डुबानमा परेका छन्। डुबानबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
