काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको छ।
जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकु ल्याएको थियो। प्रहरीले भने उनलाई ‘सुरक्षा थ्रेट’ रहेको सूचनाका आधारमा कार्यालयमा राखिएको जनाएको छ। जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई भने कार्यालयका सुरक्षाकर्मीले केही समय गेटमै रोकेका थिए।
पूर्वप्रधानन्यायाधीशजस्तो उच्च पदमा रहिसकेका व्यक्तिलाई राति निवासबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याइएको घटनाले विभिन्न प्रश्न पनि उठाएको छ।जबरालाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइयो? पक्राउ गरिएको हो कि सुरक्षाका लागि ल्याइएको हो? र यदि सुरक्षा खतरा थियो भने त्यो खतरा के थियो?
यी विषयमा प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन। सरकारी निकायबाट पनि घटनाबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। अब मानव अधिकार आयोगको टोलीले जबरासँग भेट गरेपछि घटनाको अवस्था र उनलाई नियन्त्रणमा लिनुको आधारबारे थप विवरण बाहिर आउने अपेक्षा गरिएको छ।
