काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन सदनमा प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। यस्तै, राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछिन्।
राष्ट्रियसभामा प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पनि सभामा पेस गर्नेछिन्। यसैबीच, सङ्घीय संसद्अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्ने कार्यक्रम रहेको छ।
