काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका सर्वसाधारण फर्किन थालेसँगै उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा सवारीसाधनको चाप बढेको छ। दसैँको टीका र मान्यजनबाट आशीर्वाद लिएर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएपछि सडकमा आवागमन बाक्लिन थालेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारी चाप बढेको छ। उपत्यकामा भित्रिने यात्रुको आवागमन सहज बनाउन र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
त्यस्तै, उपत्यका फर्किने यात्रुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सवारी आवागमन व्यवस्थित गर्न, सम्भावित दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने जोखिम कम गर्न निगरानी बढाइएको कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए। उपत्यकाका प्रमुख नाकाहरूबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष घटस्थापनादेखि कात्तिक ३ गतेसम्म दसैँ मनाउन पाँच लाख ७६ हजार ५७८ जना ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिएका थिए। दसैँपछि उनीहरू फर्किन थालेसँगै उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ।
