काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्। सार्वजनिक शान्ति भंग हुने गरी भएको तोडफोड र आगजनीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट नियन्त्रणमा लिइएको हो। गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा उनको संलग्नता रहेको आरोप छ। उक्त घटनामा अनवरको मुख्य भूमिका रहेको दाबी गर्दै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी पछिल्लो समय विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घर आएको सूचनाका आधारमा खोजतलास गर्दा पक्राउ परेका हुन्। यद्यपि, घटनामा उनको संलग्नता पुष्टि भइसकेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
