उच्च हिमाली क्षेत्रमा हिमपातको खतरा

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन्।

यसको असरले बिहीबार बेलुकादेखि शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातसँगै आउने जलवाष्पयुक्त हावा र वायुमण्डलमा रहेको मौसमी प्रणालीको प्रभावले नेपालमा वर्षा तथा हिमपातको सम्भावना बढेको हो।

मौसमविद् पोखरेलले अहिले नै आत्तिनुपर्ने अवस्था नरहे पनि सावधानी अपनाउनुपर्ने बताएकी छन्। उनका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान छ। यद्यपि, नेपाल नजिक आइपुग्दा चक्रवातको अवशेष कमजोर वा शक्तिशाली हुने अवस्थाले यसको प्रभाव निर्धारण गर्नेछ। विशेषगरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले त्यहाँ जाने पर्यटक तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भव भएसम्म जोखिमपूर्ण हिमाली यात्रा नगर्न र यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न मौसमविद्ले सुझाव दिएकी छन्।

यसको असर कृषि क्षेत्रमा पनि पर्न सक्ने देखिएको छ। अहिले धान काट्ने समय भएकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर मात्रै कृषि कार्यको योजना बनाउन आग्रह गरिएको छ। मौसमविद् पोखरेलका अनुसार मनसुन सकिएपछि पनि बंगालको खाडी र अरब सागरमा चक्रवात वा न्यून चापीय प्रणाली विकसित हुन सक्छन्। ती प्रणाली नेपाल नजिक आइपुग्दा वर्षा र हिमपात गराउन सक्छन्। त्यसैले मौसमसम्बन्धी अपुष्ट खबरका आधारमा त्रसित नहुन, तर सम्भावित जोखिमलाई बेवास्ता नगर्न र मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design