धनकुटामा बर्कोमा आगो सल्किँदा ९२ वर्षीया वृद्धाको मृत्यु

काठमाडौँ ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६, मुक्तेनमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९२ वर्षीया स्थानीय पबि माया मगर रहेकी छन्।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार साँझ घरको आँगनमा रहेको चुल्होमा खोले पकाउँदै आगो ताप्ने क्रममा उनले ओढेको बर्कोमा आगो सल्किएको थियो। आगोले उनको कम्मरमुनिको भाग जलेको प्रहरीले जनाएको छ।

घटना सोमबार साँझ करिब ५ बजे भएको भए पनि प्रहरीलाई मंगलबार बिहान साढे ६ बजेपछि मात्रै जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी वृद्धाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ।चिसोबाट बच्न आगो ताप्दा कपडा तथा बर्कोमा आगो सल्किन सक्ने भएकाले विशेषगरी वृद्धवृद्धाको सुरक्षामा ध्यान दिन आवश्यक देखिएको छ।

Back To Top
Modern Footer Design