हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूको सम्मेलन सुरु

हेटौँडा । प्रदेशस्तरमा शिक्षा प्रणालीको सुधार, उच्च शिक्षाको गुणस्तर वृद्धि र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले हेटौँडामा शिक्षामन्त्री तथा विश्वविद्यालयका पदाधिकारीहरूको सम्मेलन सुरु भएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबारदेखि सुरु भएको सम्मेलन कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनको उद्घाटन संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्नुभएको हो। सम्मेलनमा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री, विश्वविद्यालयका उपकुलपति, कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो। सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका प्रगति, सफल अभ्यास र विद्यमान चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। साथै, प्रदेशहरूबीच सहकार्य गर्न सकिने क्षेत्रबारे पनि छलफल हुनेछ।

सम्मेलनमा संघीयता कार्यान्वयनसँगै शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, संघ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर सुधारका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ। दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतसाधनको आदानप्रदान बढाउनुका साथै उच्च शिक्षाको विकासका लागि साझा रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्मेलनबाट प्रदेशको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा व्यावहारिक उपाय पहिचान हुने विश्वास लिइएको छ।

Back To Top
Modern Footer Design