काठमाडाैँ । युरोपका विभिन्न देशमा बढ्दो महँगी, आवास अभाव, सार्वजनिक सेवाको कमजोर अवस्था र राजनीतिक असन्तुष्टिलाई लिएर विरोध प्रदर्शन चर्किएको छ। शनिबार फ्रान्स, जर्मनी, पोर्चुगल, पोल्यान्ड, नेदरल्यान्ड्सलगायतका देशका प्रमुख सहरमा हजारौँ मानिस सडकमा उत्रिएका हुन्।
फ्रान्समा मात्रै गृह मन्त्रालयका अनुसार करिब ३ लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका छन्। राजधानी पेरिसमा ७० हजारको उपस्थिति रहेको बताइएको छ। तर आयोजकहरूले भने देशभर ५ लाख र पेरिसमा २ लाख मानिस सहभागी भएको दाबी गरेका छन्। सम्भावित तनावलाई मध्यनजर गर्दै फ्रान्सभर ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा प्रहरीसँग झडप हुँदा ४२२ जना पक्राउ परेका छन्।
जर्मनीका ३० भन्दा बढी सहरमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवा हटाउन माग गर्दै प्रदर्शन भयो। आयोजकका अनुसार १२ सहरको तथ्याङ्कमा मात्रै ६८ हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही सहरमा प्रहरी अधिकारी घाइते हुनुका साथै सार्वजनिक संरचनामा आगजनी र प्रहरीमाथि आक्रमणका घटना पनि भएका छन्। यस्तै, इटालीमा सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएको थियो। युनियनले १५ लाख मानिस सहभागी भएको दाबी गरे पनि गृह मन्त्रालयले भने २ लाख ५५ हजारको उपस्थिति रहेको जनाएको छ। पोर्चुगलमा भने आवास समस्या समाधानको माग गर्दै लिस्बन र पोर्टोमा प्रदर्शन गरिएको छ।
अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायत माग राखेर भइरहेको आन्दोलन १९औँ दिन पनि जारी रह्यो। त्यहाँ प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। यसैगरी पोल्यान्ड, नेदरल्यान्ड्स र स्पेनमा पनि प्रदर्शन तथा सम्भावित अशान्तिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। समग्रमा, महँगी, आवास संकट र सार्वजनिक सेवाप्रतिको असन्तुष्टिले युरोपका विभिन्न देशमा सडक आन्दोलनको रूप लिँदै गएको देखिएको छ।
