दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको दाबी गर्दै कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उनले उक्त निर्णय बदर गर्न माग गर्नुका साथै नवनियुक्त आईजीपी मनोज केसीलाई सो पदको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

रिटमा आफ्नो कार्यकाल बाँकी रहँदै कानुनविपरीत पदबाट हटाइएको र निर्णय गर्नुअघि स्पष्टीकरणसमेत माग नगरिएको उल्लेख गरिएको छ। सरकारले आफूलाई आफ्नो भनाइ राख्ने अवसर नदिई हटाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको कार्कीको जिकिर छ।

त्यस्तै, कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा सरकारसहित विपक्षी पक्षलाई कुनै कानुनी क्षति नपुग्ने दाबी पनि रिटमा गरिएको छ। प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी रहँदा आदेश र जिम्मेवारीको शृंखलामा अन्योल सिर्जना हुन सक्ने भन्दै संगठनको स्थिरता र कमान्ड प्रणाली व्यवस्थित राख्नुपर्ने माग कार्कीले गरेका छन्।

Back To Top
Modern Footer Design