काठमाडौं । हुँकार मधेशले जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित तीन चरणमा हुलाकी यात्रा सञ्चालन गर्ने घोषणा गरेको छ। मंसिर १० गतेदेखि सुरु हुने यात्राअघि संगठनले प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेको छ।
हुँकार मधेशका संयोजक रामकुमार शर्माका अनुसार प्रधानमन्त्री शाहसँग भेटका लागि समय माग गरिएको छ। समय उपलब्ध भए प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र बुझाइने र नभए प्रधानमन्त्रीको सचिवालयमार्फत बुझाउने तयारी छ। त्यहाँबाट पनि सम्भव नभए जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत ज्ञापनपत्र बुझाइने उनले बताएका छन्।
संगठनका प्रवक्ता केशवकुमारका अनुसार यात्राको पहिलो चरण मंसिर १० देखि पुस ७ गतेसम्म सञ्चालन हुनेछ। यस क्रममा मधेश प्रदेशका आठवटै जिल्लामा पुगेर स्थानीय नागरिकसँग संवाद गरिनेछ। पहिलो चरणको समीक्षा गर्न पुस १० गते बैठक बस्नेछ। त्यसपछि दोस्रो चरणको यात्रा पुस १७ गते चितवनबाट सुरु हुनेछ। यो चरण पुस २९ गते कञ्चनपुर पुगेर टुंगिनेछ। दोस्रो चरणको समीक्षा गर्न माघ ३ गते बैठक आयोजना गरिनेछ।
त्यस्तै, तेस्रो चरणअन्तर्गत माघ ५ गतेदेखि झापाबाट यात्रा अघि बढाइनेछ। माघ ७ देखि ९ गतेसम्म मोरङ, ९ देखि १० गतेसम्म सुनसरी र १० देखि ११ गतेसम्म उदयपुरमा कार्यक्रम सञ्चालन हुनेछ। काठमाडौँ उपत्यकामा भने माघ १२ देखि १५ गतेसम्म यात्रा गरिने जनाइएको छ। यसैबीच, माघ ५ गते सिरहाको लहानमा बलिदान दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरिने प्रवक्ता केशवकुमारले जानकारी दिएका छन्।
विभिन्न मधेशवादी दलबाट अलग भएका युवाहरूले गत असोज ९ गते हुँकार मधेश गठनको घोषणा गरेका थिए। संगठनले सञ्चालन गर्न लागेको हुलाकी यात्रा यसको पहिलो औपचारिक कार्यक्रम हो। यात्राका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष छलफल गर्ने, उनीहरूका सुझाव संकलन गर्ने र त्यसकै आधारमा आगामी राजनीतिक कार्यक्रम तय गर्ने संयोजक शर्माले बताएका छन्। तीन महिनासम्म सञ्चालन हुने अभियानमा स्थानीय निर्वाचन र गैरदलीय निर्वाचनको अवधारणाबारे समेत जनस्तरमा छलफल गरिने उनको भनाइ छ। यात्रा सम्पन्न भएपछि माघ १७ गते संगठनको बैठक बसेर आगामी रणनीति तय गरिनेछ। त्यसपछि हुँकार मधेशको राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी रहेको संयोजक शर्माले बताएका छन्।
