बंगलादेश फर्किने तयारीमा शेख हसिना, स्वदेश आए पक्राउ पर्ने सम्भावना

काठमाडौँ । भारतमा निर्वासनको जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिना बंगलादेश फर्किए पक्राउ पर्ने र जेल जानुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

विद्यार्थी आन्दोलन चर्किएपछि १५ वर्ष लामो शासन सत्ता गुमाएकी हसिना सन् २०२४ अगस्ट ५ मा बंगलादेश छाडेर भारत पुगेकी थिइन्। प्रदर्शनका क्रममा सयौँ मानिसको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो। अदालतले सुनाएको मृत्युदण्डको फैसलालाई अस्वीकार गर्दै आएकी उनले स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन्। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई अदालतले दोषी ठहर गरिसकेको र उनको सुपुर्दगीका लागि भारतसँग औपचारिक माग गरिएको बताएका छन्। सरकारले यस विषयमा आफ्नो अडान नबदल्ने उनको भनाइ छ।

हसिनाले मंगलबार डिसेम्बर १६ मै स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई भारतीय राजधानी दिल्लीबाट ढाकासम्म राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था मिलाउन आग्रह गरेकी छन्। उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले सन् २०२४ मा बंगलादेशी विमानमार्फत भारत पुगेकी हसिनाको स्वदेश फिर्तीको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताएका छन्।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको ऐतिहासिक घटनाको सम्झनामा यो दिवस मनाइन्छ। हसिनाका सहयोगी अबु ओबैदा अरिनका अनुसार आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मानस्वरूप हसिनाले यही दिन स्वदेश फर्कन चाहेको बताएकी छन्। उनको पुनरागमनले देशमा शान्ति, स्थिरता र समृद्धिको बाटो खोल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्। यसअघि एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले जुनसुकै परिस्थिति आए पनि डिसेम्बरमै स्वदेश फर्किने बताएकी थिइन्। मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने उनको भनाइ थियो।

यता, मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयसीमा पनि हसिनाले गुमाइसकेको र सजाय कार्यान्वयन रोक्ने कानुनी आधार नरहेको एक अभियोजकले बताएका छन्। बंगलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने कानुनी व्यवस्था भए पनि हसिनाले अहिलेसम्म त्यस्तो आग्रह गरेकी छैनन्। उनले अदालतको फैसलालाई भने निरन्तर अस्वीकार गर्दै आएकी छन्। हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए। उनको नेतृत्वको सरकारले हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउनुका साथै फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुनबाट रोकेको थियो। त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो।

यसैबीच, सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनसँगै पुनः सक्रिय राजनीतिमा फर्किएको छ। अहिले उक्त पार्टी बंगलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ। हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो। हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९७५ मा भएको सैन्य ‘कू’ का क्रममा उनको परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। त्यतिबेला देशबाहिर रहेका कारण हसिना र उनकी कान्छी बहिनी भने बाँच्न सफल भएका थिए।

Back To Top
Modern Footer Design