काठमाडौँ । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलबाट मोटरसाइकल अनियन्त्रित भएर नहरमा खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुधबार साँझ करिब ७ः४५ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पुलबाट नहरमा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्याइए पनि चिकित्सकले राति ७ः५५ बजे मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवान पनि घाइते भएका छन्। उनको चिउँडोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
