काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक केही घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीलाई भूमिगत बनाउने काम अघि बढाएसँगै विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध गर्न लागेको हो।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ। जारी सूचनाअनुसार मङ्सिर ३, ६ र ८ गते बलम्बु तथा थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ। मङ्सिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मङ्सिर ५ गते कालिमाटी तथा बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ।
त्यस्तै, मङ्सिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा, मङ्सिर ९ गते कोटेश्वर फिडरका ईडीटीआर २६ए र ४ क्षेत्रमा तथा मङ्सिर १२ गते ईडीटीआर ८ए र ८ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। यसैगरी मङ्सिर १० र १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्मको क्षेत्रमा बत्ती जानेछ। मङ्सिर ११ गते बलम्बु–थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र मङ्सिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले तोकिएको तालिकाअनुसार काम गर्ने तयारी गरे पनि मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको कार्यक्रम स्थगित हुन सक्ने स्पष्ट पारेको छ। विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ।
