कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
जेठ २९ गते अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएपछि घटनाप्रति देशव्यापी विरोध भएको थियो। यसैबीच, घटनाको अनुसन्धानका क्रममा प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।
