११ महिनामा सरकारको राजस्व संकलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै पूरा

काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा झण्डै ११ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेट विवरणअनुसार सरकारले जेठ मसान्तसम्म १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको छ। यो रकम वार्षिक राजस्व लक्ष्यको ७३.०६ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर ११ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। कर राजस्वतर्फ सरकारले १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ अर्थात् लक्ष्यको ७४.०३ प्रतिशत मात्रै संकलन भएको छ।

यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिए पनि ११ महिनामा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ६४.७३ प्रतिशत हो। अनुदानतर्फ भने प्रगति अझ कमजोर देखिएको छ। ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा हालसम्म २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४२.८२ प्रतिशत बराबर हो।

Back To Top
Modern Footer Design