काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारले सीमित समयमै जनहित, आर्थिक सुधार र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा आर्थिक विधेयक ल्याउने प्रयास गरेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले सबै पक्षका अपेक्षा शतप्रतिशत सम्बोधन गर्न सम्भव नभए पनि देश निर्माण र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए। पराजुलीले मध्यम वर्गको विस्तार र कर प्रणालीलाई थप व्यावहारिक बनाउने दिशामा सरकारले महत्वपूर्ण कदम चालेको उल्लेख गरे। करको दायरा विस्तार, आयकरको स्ल्याब वृद्धि तथा उच्च करदरबाट सिर्जना हुने मनोवैज्ञानिक दबाब कम गर्ने व्यवस्था बजेटका सकारात्मक पक्ष रहेको उनको भनाइ थियो।
उनले यस्ता सुधारात्मक प्रयासलाई सकारात्मक रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राख्दै प्रतिपक्षले उठाएका कतिपय विषयहरू बजेटमार्फत सम्बोधन गरिएको बताए। सांसद पराजुलीले औद्योगिकीकरण, उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा आर्थिक विधेयकले केही महत्वपूर्ण व्यवस्था गरेको भए पनि अझै सुधारका अवसर बाँकी रहेको उल्लेख गरे। विशेषगरी स्वदेशी कच्चा पदार्थको उपयोग बढाएर मूल्य अभिवृद्धियुक्त वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने उनले बताए।
प्लाइउड उद्योगको उदाहरण दिँदै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रशोधन गरी निर्यात गर्न सके विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुग्ने बताए। कच्चा पदार्थ निर्यातभन्दा तयारी वस्तुको निर्यातलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको धारणा थियो। उनका अनुसार भन्सार नीतिमा आवश्यक संशोधन गरी स्वदेशी उद्योगलाई संरक्षण र प्रोत्साहन गर्न सके प्लाइउडजस्ता उद्योगको निर्यात क्षमता उल्लेखनीय रूपमा विस्तार गर्न सकिनेछ।
