कतार । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा भएको विस्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्। आइतबार भएको उक्त घटनामा १३ जनाको मृत्यु हुनुका साथै ६६ भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।
घाइतेमध्ये नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू रहेका छन्। घाइतेहरूको उपचार भइरहेको भए पनि उनीहरूको नामावली सार्वजनिक गरिएको छैन। कतारी ऊर्जा मन्त्री साद अल–काबीका अनुसार यो घटना आक्रमण नभई दुर्घटना भएको हो। उनले घटनाले उत्पादन वा निर्यातमा कुनै असर नपर्ने तथा वातावरणीय प्रभाव पनि नपरेको बताएका छन्। दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपचार पाइरहेको जानकारी दिएको छ।
विस्फोटपछि ठूलो आगलागी र धुवाँ देखिएको थियो, जसको आवाज ६० किलोमिटर टाढासम्म महसुस गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि राति नै आगो नियन्त्रणमा लिइएको थियो। यसअघि पनि रस लाफान क्षेत्रमा इरानसँग सम्बन्धित तनावका क्रममा क्षति पुगेको इतिहास रहेको बताइन्छ। तर यस पटकको घटना आक्रमण नभई प्राविधिक दुर्घटना भएको कतारी अधिकारीहरूको दाबी छ।
