जर्मनीलाई पराजित गर्दै इक्वेडर अन्तिम ३२ मा

न्युजर्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले स्तब्ध पार्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

न्युजर्सी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जर्मनीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै टोलीलाई सुरुआती बढत दिलाए। सानेको यो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल हो। साथै सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको सबैभन्दा छिटो गोलका रूपमा पनि यो गोल दर्ज भयो।

सुरुमै पछि परे पनि इक्वेडरले संयमित खेल प्रदर्शन गर्दै नवौं मिनेटमा खेल बराबरीमा ल्यायो। जर्मनीको हाफमा पाब्लो विटेले बल खोसेर दिएको पासलाई निलसन एन्गुलोले सदुपयोग गर्दै बक्सबाहिरबाट आकर्षक प्रहार गरेका थिए। उनको प्रहार गोलकिपर मानुएल नोयरलाई झुक्याउँदै जालीमा पुगेको थियो। जारी विश्वकपमा इक्वेडरको यो पहिलो गोल पनि बनेको थियो। दोस्रो हाफको सुरुवातमा जर्मनीले पेनाल्टीको अवसर पाएको थियो। तर भिडियो सहायक रेफ्री ९ख्ब्च्० को समीक्षा पछि लेरोय सानेले नै फाउल गरेको पुष्टि भएपछि रेफ्री टोरी पेन्सोले पेनाल्टीको निर्णय उल्टाइन्।

खेलको ७७औं मिनेटमा इक्वेडरले निर्णायक गोल गर्दै पुनरागमन पूरा गर्‍यो। कर्नरबाट आएको बललाई वैकल्पिक खेलाडी केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाएपछि गोन्जालो प्लाटाले नोयरभन्दा अघि पुगेर बललाई पोस्टको माथिल्लो कुनामा प्रहार गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा जर्मनीले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन र इक्वेडरले ऐतिहासिक जित निकाल्दै नकआउट चरणमा स्थान बनायो। पराजित भए पनि जर्मनी ६ अंक र उत्कृष्ट गोलअन्तरका आधारमा समूह विजेता बन्यो। समान ६ अंक जोडेको कोट डिभ्वार दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्दा इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा पुगेको हो।

Back To Top
Modern Footer Design