चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको जनाएको छ। हाल मनसुनी वायु कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा सक्रिय रहेको छ। अन्य स्थानमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही दिनभित्र मनसुन सक्रिय हुने अनुमान गरिएको छ। अहिले सुदूरपश्चिमको तराईमा मौसम मुख्यतः सफा रहे पनि देशका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ। आज राति पनि देशभर बदली कायम रहनेछ। कोशीका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र मधेसका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेसका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सम्भावित भारी वर्षा र हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Back To Top
Modern Footer Design