बंगलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध मृत्युदण्डको फैसला भए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। उनी सन् २०२४ मा सत्ता परिवर्तनपछि भारतमा बस्दै आएकी छन्।
मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी ७८ वर्षीया हसिनालाई बंगलादेश सरकारले फरार घोषणा गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनपछि करिब १५ वर्ष लामो शासनको अन्त्य हुँदै उनले देश छाडेर भारतमा शरण लिएकी थिइन्। भारतमा बसेपछि उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्। यस वर्षको सुरुआतमा नयाँदिल्लीबाट सम्बोधन गरेपछि हालै भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
अन्तर्वार्ताका क्रममा हसिनाले आफूविरुद्धको फैसला राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै त्यसलाई गैरकानुनी र असंवैधानिक बताइन्। उनले मृत्युदण्डको सजायबाट आफू नडराउने र सबै चुनौती पार गर्दै यसै वर्ष बंगलादेश फर्किने अडान दोहोर्याइन्। उनका अनुसार आफूविरुद्ध विगतमा पनि पटक–पटक षड्यन्त्र गरिए पनि जनताको समर्थनका आधारमा पाँच पटक प्रधानमन्त्री निर्वाचित हुन सफल भएको र देशको विकासमा योगदान दिएको दाबी गरिन्।
गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हिंसामा उक्साएको, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यससँगै उनको राजनीतिक दल अवामी लिगमाथि पनि प्रतिबन्ध लगाइएको छ। यसबीच भारत र बंगलादेशबीचको सम्बन्धमा सुधारका संकेत देखिन थालेका छन्। नयाँ सरकार गठनपछि दुई देशबीच कूटनीतिक संवाद बढेको छ भने भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा सेवा पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
यसअघि उपचारका लागि भिसा सेवा पनि पुनः सुरु गरिएको थियो। करिब ४ हजार ९६ किलोमिटर खुला स्थल सीमा साझा गर्ने भारत र बंगलादेशबीच ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहे पनि अवैध आप्रवासनलगायतका विषयमा अझै मतभेद कायम छन्। यस्तो अवस्थामा हसिनाको स्वदेश फर्किने घोषणा र भारतले भिसा सेवा पुनः सञ्चालन गर्ने निर्णयलाई दक्षिण एसियाली राजनीतिक परिवेशमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।
