कैलालीमा साढे तीन किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

कैलाली । कैलालीमा एकै दिन साढे तीन किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ परेका छन्। प्रहरीले अत्तरिया क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट दुई किलो ९५ ग्राम चरेस बरामद गरिएको थियो। उक्त घटनामा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्ट पक्राउ परेका छन्। त्यसैगरी, अत्तरिया–धनगढी सडकखण्डबाट एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई पनि प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ। पछिल्लो समय कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध ओसारपसार र कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने घटना बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design