अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ आतंकवादी मारिएको दाबी

पाकिस्तान । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ। पाकिस्तान सरकारका अनुसार उक्त अभियानमा २९ जना आतंकवादी मारिएका छन्।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तराडले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गोप्य सूचनाका आधारमा मध्यराति सेनाले डुरान्ड रेखा आसपास स्थलगत तथा हवाई अभियान सञ्चालन गरेको बताएका छन्। उनका अनुसार खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत कारबाहीमा आतंकवादी कमाण्डर खान फ्रोश जबालसहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएका छन्। त्यसपछि डुरान्ड रेखा नजिक रहेका जमात–उल–अहरार र पाकिस्तान तालिबान आन्दोलन ९टीटीपी० का अड्डा तथा शिविरलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको दाबी गरिएको छ।

यता, बीबीसीका अनुसार अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने आक्रमणमा सर्वसाधारणमाथि निशाना साधिएको आरोप लगाएका छन्। उनका अनुसार महिलाहरू र बालबालिकासहित दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तथा धेरै घाइते भएका छन्। मुजाहिदले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण कार्य’को संज्ञा दिएका छन्। पाकिस्तानको दाबी र तालिबान सरकारको भनाइबीच भने घटनाको वास्तविक क्षतिको विवरण फरक–फरक रहेको छ।

Back To Top
Modern Footer Design