काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि थप सक्रिय हुने जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आइतबार साँझ जारी विशेष मौसम बुलेटिनमा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना रहेको उल्लेख छ। यस्तै, देशका पहाडी तथा तराईका अधिकांश स्थान र हिमाली क्षेत्रका केही भागमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ। यसैका कारण मनसुन क्रमशः देशभर फैलिने र वर्षाको मात्रा पनि बढ्ने सम्भावना रहेको छ।
निरन्तर वर्षासँगै भूक्षय, बाढी, पहिरो, गेग्र्यान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। साथै, ठूला तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दा विशेष सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले सम्भावित प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन अनुरोध गरेको छ।
