रास्वपा पदाधिकारी निर्वाचनमा न्यून मतदान, वैधानिकतामाथि प्रश्न

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) को पहिलो महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ३० प्रतिशतभन्दा कमले मात्रै मतदान गरेपछि निर्वाचनको वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ।

पार्टीले महाधिवेशन प्रतिनिधिको आधिकारिक संख्या सार्वजनिक नगरे पनि करिब ४ हजार ३११ प्रतिनिधि रहेको बताइँदै आएको छ। तर पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा भने जम्मा एक हजार २८९ मत मात्रै खसेको थियो। यस आधारमा तीन हजारभन्दा बढी प्रतिनिधिले मतदानमा भाग नलिएको देखिन्छ। पार्टी सभापति रवि लामिछाने स्वयं पनि मतदानमा सहभागी भएका थिएनन्।

यसअघि केन्द्रीय समिति चयनका लागि भएको पहिलो चरणको निर्वाचनमा दुई हजार ९५९ प्रतिनिधिले मतदान गरेका थिए। त्यसको तुलनामा पदाधिकारी निर्वाचनमा सहभागिता झण्डै आधाले घटेको देखिएको छ। निर्वाचनबाट महिला उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्। सभापति रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले भने निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचनमा अत्यन्तै कम सहभागिता भएपछि यसबाट निर्वाचित पदाधिकारीहरूको वैधानिकताबारे प्रश्न उठ्न थालेको छ। यस विषयमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा उजुरी परे आयुक्तहरूको बैठकले कानुन र पार्टी विधानका आधारमा निर्णय गर्ने बताए। उनका अनुसार दलले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सूची आयोगमा पेश गरेपछि संविधान, कानुन र पार्टी विधानसँग मिल्छ कि मिल्दैन भन्ने विषयमा परीक्षण गरिन्छ। आवश्यक परे सुधार गरेर पुनः पेश गर्न निर्देशन दिइने उनले बताए।

रास्वपाको महाधिवेशन कार्यविधिमा भने निर्वाचन वैधानिक हुन न्यूनतम कति प्रतिशत प्रतिनिधिको मतदान आवश्यक पर्छ भन्ने स्पष्ट व्यवस्था छैन। सभापति पदका लागि भने सदर मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने र त्यो नपुगे दोस्रो चरणमा निर्वाचन हुने उल्लेख गरिएको छ। अन्य पदाधिकारीका हकमा भने यस्तो प्रावधान राखिएको छैन। कम मतदानले महाधिवेशन व्यवस्थापनमाथि पनि प्रश्न उठाएको छ। निर्धारित तीन दिनमै सक्ने भनिएको महाधिवेशन लम्बिँदा धेरै प्रतिनिधि अन्तिम मतदानअघि नै फर्किएका थिए।

कृषि कार्यको समय, चितवनको अत्यधिक गर्मी, बसाइँ लम्बिँदा बढेको खर्च तथा सहमतिको प्रयासका कारण पनि प्रतिनिधिहरू मतदानमा सहभागी हुन नसकेको पार्टीको निर्वाचन आयोगको दाबी छ। रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले पहिलो र दोस्रो चरणको मतदानलाई समग्रमा हेर्दा प्रतिनिधिहरूको सहभागिता सन्तोषजनक रहेको बताए। उनका अनुसार अन्तिम समयमा सहमतिको प्रयास भएकाले धेरै प्रतिनिधिले मतदान नहुने अनुमान गरेर घर फर्किएका थिए। पछि निर्वाचन हुने निश्चित भएपछि केही प्रतिनिधि पुनः फर्किएर मतदानमा सहभागी भएको पनि उनले जानकारी दिए।

Back To Top
Modern Footer Design