आज २३औँ राष्ट्रिय धान दिवस, रोपाइँ सुस्त हुँदा उत्पादनप्रति चिन्ता

काठमाडौँ ।देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सरकारले २०६१ सालदेखि हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा सुरु गरेको हो।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइँदै छ। तर, पर्याप्त वर्षा नहुँदा यसपटक देशभर धान रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ। कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ११।३३ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा १५।६ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो। यस वर्ष १३ लाख ९१ हजार ४८८ हेक्टरमध्ये एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रमा मात्रै धान रोपिएको विभागको तथ्यांक छ।

प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढी २२।८ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०।९ प्रतिशत, गण्डकीमा १२।७ प्रतिशत, बागमतीमा १२।६ प्रतिशत, सुदूरपश्चिममा ९।३ प्रतिशत र कोशीमा ८।३ प्रतिशत रोपाइँ भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपिएको छ। कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी तिलकराज चौलागाईंका अनुसार पर्याप्त वर्षा नहुँदा विशेषगरी तराई क्षेत्रमा रोपाइँ प्रभावित भएको हो। पहाडी जिल्लामा रोपाइँ केही अघि बढे पनि तराईका अधिकांश क्षेत्रमा किसान अझै वर्षाको प्रतीक्षामा छन्।

यसैबीच, चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ११ महिनामा नेपालले झण्डै ३७ अर्ब ८४ करोड रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ। यसमध्ये करिब १८ अर्ब ५४ करोड रुपैयाँको धान र १९ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको चामल विदेशबाट भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादनले माग धान्न नसक्दा हरेक वर्ष करिब १० लाख मेट्रिक टन धान अभाव हुने गरेको छ। साथै, उपभोक्तामा मसिनो तथा बास्नादार चामलको माग बढ्दै जाँदा आयातमा निर्भरता पनि कायमै रहेको छ। यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ हुँदा बर्दियालगायत तराईका धेरै जिल्लामा धान रोपाइँ अझै सुरु हुन सकेको छैन भने केही स्थानमा रोपिएका खेतसमेत पानी अभावका कारण चिरा पर्न थालेका छन्।

Back To Top
Modern Footer Design