काठमाडौं ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रममा रहेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य केही समयपछि घट्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पश्चिम एसियाको तनाव क्रमशः कम हुँदै गएको र त्यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको बताए। उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको प्रभाव तत्काल देखिँदैन। आयात प्रक्रिया पूरा भई नयाँ मूल्यअनुसार इन्धन नेपाल आइपुग्न केही समय लाग्ने भएकाले उपभोक्ताले केही समयपछि मात्र राहत पाउने उनले स्पष्ट पारे।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ। भारतीय आयल निगममार्फत नयाँ मूल्यअनुसार इन्धन नेपाल आउन समय लाग्छ। त्यसपछि यहाँ पनि मूल्य समायोजन हुन्छ,’ अर्थमन्त्री वाग्लेले भने। उनले आफू अर्थमन्त्री बनेलगत्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर कम गर्न डिजेल, पेट्रोल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि जानकारी दिए। यसबाट उपभोक्तामाथि परेको अतिरिक्त आर्थिक भार केही हदसम्म कम भएको उनको भनाइ थियो।
