२४ घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा, देशका अधिकांश क्षेत्रमा अझै पानी

कञ्चनपुर। पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो १ः०५ बजे सार्वजनिक गरेको विवरणअनुसार कञ्चनपुरको हनुमाननगरमा २४ घण्टामा १४७.४ मिलिमिटर वर्षा रेकर्ड भएको हो। मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई धेरै भारी वर्षा मानिन्छ। महाशाखाका अनुसार हाल मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेशका केही पहाडी र तराई क्षेत्र तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design