काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवनदर्शन करुणा, प्रेम, मानवता, सेवा र शान्तिको भावनाबाट निर्देशित रहेको बताएका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँले आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताको संस्कृतिले समाजलाई सही दिशामा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे। उनले यी मूल्यलाई व्यवहार र आचरणमा उतार्दै विश्व शान्ति, मानव कल्याण र समग्र प्रगतिका लागि समर्पित हुनु सबैको साझा जिम्मेवारी भएको बताए।
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएको आफ्नो विश्वास रहेको उल्लेख गर्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानवहितका क्षेत्रमा रोटरीले पुर्याएको योगदान अहिलेको परिवर्तित विश्व परिवेशमा झन् बढी अर्थपूर्ण बनेको बताए। उनका अनुसार समाजसेवा, मानवता र शान्तिको प्रवर्द्धनमा रोटरीको भूमिका प्रशंसायोग्य छ। सेवा, मित्रता, सद्भाव र विश्वमानवताका आदर्शलाई आत्मसात् गर्दै रोटरीका सदस्यहरूले समाज रूपान्तरणका विभिन्न अभियानमा सक्रिय सहभागिता जनाइरहेका उनले बताए। कार्यक्रमका अवसरमा रोटरी क्लबले १४ जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरेको थियो।
