काठमाडौँ। प्रहरीको भेष धारण गरी एक व्यक्तिलाई हत्कडी लगाएर नगद तथा अन्य सामान लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा निवासी ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीका अनुसार शेरबहादुर मोक्तान बस्दै आएको वनस्थलीस्थित कोठामा उनका एक साथी जग्गा खरिदका लागि आवश्यक रकम लिएर पुगेका थिए। त्यही बेला करिब पाँचदेखि छ जनाको समूह आफूहरू प्रहरी भएको परिचय दिँदै कोठामा प्रवेश गरेको थियो। उक्त समूहले पीडितलाई हत्कडी लगाएर साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बैंकका चेकहरू नियन्त्रणमा लिई फरार भएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध लुटपाटसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
