अमेरिका। दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको हो।
अमेरिकाको सिएटल स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा सेनेगलले लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि अन्तिम क्षणमा अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। सेनेगलले खेलको २४औं मिनेटमा हबीब डायराको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५१औं मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० ले अघि बढेको थियो र सहज जिततर्फ उन्मुख देखिएको थियो।
तर खेलको अन्तिम पाँच मिनेट बेल्जियमका लागि ऐतिहासिक साबित भयो। ८६औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई आशा दिलाए भने ८९औं मिनेटमा कप्तान युरी थिलेमन्सले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए। त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयको अन्तिम मिनेटमा सेनेगलका लामिन क्यामाराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भिडियो सहायक रेफ्रीको समीक्षा पश्चात् बेल्जियमले पेनाल्टी पायो। त्यसको जिम्मेवारी लिएका थिलेमन्सले कुनै गल्ती नगरी गोल गर्दै बेल्जियमलाई ३–२ को नाटकीय जित दिलाए।
यो जितसँगै बेल्जियमले विश्वकप इतिहासकै स्मरणीय पुनरागमनमध्ये एक दर्ता गरेको छ। साथै थिलेमन्सको १२५औं मिनेटमा भएको गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो निर्णायक गोलमध्ये एक बनेको छ। यस संस्करणको विश्वकपमा १० अफ्रिकी टोली सहभागी छन्। तीमध्ये नौ टोली नकआउट चरणमा पुगेका थिए। तर हालसम्म मोरक्कोबाहेक अन्य अफ्रिकी टोलीले नकआउट चरणमा सफलता हात पार्न सकेका छैनन्। दक्षिण अफ्रिका, आइभरी कोस्ट र डिआर कंगो यसअघि नै बाहिरिइसकेका छन् भने केप भर्डे, इजिप्ट, घाना र अल्जेरियाले आफ्नो नकआउट खेल खेल्न बाँकी छ। मोरक्कोले भने नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
