चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

बिहीबार बिहानदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा कञ्चनपुरको दोधारामा १७।४ मिलिमिटर, हनुमाननगरमा १२।४ मिलिमिटर तथा नुवाकोटको त्रिशूलीमा १५।८ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा भने सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा १४९।६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७।६ मिलिमिटर मापन गरिएको छ। काठमाडौंको नागार्जुनमा ४६।६ मिलिमिटर वर्षा हुँदा अन्य अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि यस्तै मौसम रहने सम्भावना छ। महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गर्दै नदी, खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले सतर्क रहन आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, देशका पहाडी भूभागका विभिन्न स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

Back To Top
Modern Footer Design