आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । देशभर मनसुन प्रणाली सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। यसअघि बिहीबार काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा डुबान भएको थियो। सडक आवागमन प्रभावित हुनुका साथै सर्वसाधारणको दैनिक जनजीवनसमेत प्रभावित बनेको थियो।

Back To Top
Modern Footer Design