रोनाल्डोको पेनाल्टी गोलले पोर्चुगललाई खेलमा फर्कायो

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसियाविरुद्धको नकआउट चरणको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले महत्त्वपूर्ण पेनाल्टी गोल गर्दै पोर्चुगललाई बराबरीमा फर्काएका छन्। विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको यो पहिलो गोल हो।

टोरन्टोमा जारी राउण्ड अफ ३२ को खेलमा पोर्चुगल दोस्रो हाफको सुरुवातमै एक गोलले पछि परेको थियो। ५३औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। क्रोएसियाका निकोला भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगामाथि फाउल गरेपछि भिडियो सहायक रेफ्री को समीक्षा पश्चात् रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले सहज रूपमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

यससँगै रोनाल्डोको जारी विश्वकपमा गोल संख्या तीन पुगेको छ। उनले यसअघि समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए। विश्वकप इतिहासमा भने यो रोनाल्डोको ११औँ गोल हो। यस उपलब्धिसँगै उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा संयुक्त नवौँ स्थानमा उक्लिएका छन्। बराबरी गोलपछि खेल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ।

Back To Top
Modern Footer Design