डोल्पा ।डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित मौरेलेख क्षेत्रमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
दिउँसो करिब १स्५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित बाँकी १३ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। उद्धार कार्यमा सहयोग गर्न चन्दननाथ नगरपालिकाबाट एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्। प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ भने घाइतेहरूको विस्तृत परिचय खुलाउने काम पनि जारी रहेको छ।
