धादिङ ।धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराले फलामको पाइपले प्रहार गर्दा एक वृद्धको मृत्यु भएको छ।
शनिबार अपराह्न घरायसी विवादका क्रममा ३५ वर्षीय सुजन सुनारले आफ्ना ६० वर्षीय बुबा धननारायण सुनारमाथि आक्रमण गरेका थिए। प्रहरीले जनाएअनुसार सुजनले करिब तीन फिट लामो फलामको पाइपले बुबाको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते धननारायणलाई तत्काल उपचारका लागि फुलखर्क ग्रामीण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
गङ्गाजमुना गाउँपालिका–४ का वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न सुजन लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटना भएपछि वडाध्यक्ष घले तथा स्थानीय युवाहरूको सहयोगमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ। घटनामा संलग्न सुजन सुनारलाई जिल्ला प्रहरी कार्यालय धादिaङले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
