काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले सोमबार पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसतभन्दा दक्षिणतर्फ रहेको छ भने पश्चिमी क्षेत्रमा भने औसत अवस्थाकै आसपास रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा बदली रहने अनुमान गरिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
