हालान्डको दुई गोलमा ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ।

न्युयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनलमा नर्वेले ब्राजिललाई २–१ ले हराउँदै पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यससँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको छ। खेलको सुरुआतमै ब्राजिलले अग्रता लिने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। १५औँ मिनेटमा भिएआरको निर्णयपछि पाएको पेनाल्टीमा ब्रुनो गुइमारेसको प्रहारलाई नर्वेका अनुभवी गोलरक्षक ओर्जान निल्यान्डले शानदार रूपमा बचाए। त्यसपछि पनि भिनिसियस जुनियर, ग्याब्रियल मार्टिनेली र वैकल्पिक खेलाडी एन्ड्रिकका प्रहारलाई निल्यान्डले लगातार विफल बनाउँदै नर्वेलाई खेलमा टिकाइराखे। ७९औँ मिनेटमा एन्ड्रियास श्जेल्डेरुपको उत्कृष्ट क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।

निर्धारित समयको ९०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित लगभग पक्का गरेका थिए। ब्राजिलले इन्जुरी समयको १०औँ मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि पुनरागमनका लागि त्यो पर्याप्त हुन सकेन। यस खेलसँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याएका छन्। उनी गोल्डेन बुटको दौडमा केलियन एम्बाप्पे र लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्। ऐतिहासिक जितसँगै स्टाले सोल्बाकेनको नेतृत्वमा रहेको नर्वेले अब जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा मेक्सिको र इङ्गल्याण्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

Back To Top
Modern Footer Design