सुकुमवासीको व्यवस्थापनमा संवेदनशील हुन कांग्रेसको आग्रह, सरकारमाथि आङदेम्बेको प्रश्न

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुमवासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनका विषयमा सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।

उनले राज्य सबै नागरिकको भएको भन्दै कुनै सीमित वर्गको मात्र हितमा केन्द्रित हुन नहुने टिप्पणी गरे। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहप्रति संकेत गर्दै, के यो देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेहरूको मात्र हो ? भन्ने प्रश्न उठाए। उनले कुनै व्यक्तिको बसोवास कानुनी वा गैरकानुनी हुन सक्ने भए पनि जन्मलाई गैरकानुनी भन्न नमिल्ने उल्लेख गर्दै सुकुमवासी समस्याको समाधान व्यवहारिक र मानवीय ढंगबाट खोजिनुपर्ने बताए।

वर्षायाम सुरु हुने बेला वैकल्पिक बसोवासको व्यवस्था नगरी हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासीलाई हटाउनु सरकारको असंवेदनशीलता भएको उनको आरोप थियो। आश्रयस्थलमा राखिएका नागरिकलाई केही समयपछि पुनः हटाउने कार्य उचित नभएको उल्लेख गर्दै उनले व्यवस्थापनका नाममा बल प्रयोग गरेर नागरिकलाई विस्थापित गर्नु समाधान हुन नसक्ने धारणा राखे। आङदेम्बेले सुकुमवासी, अव्यवस्थित बसोवासी, गरिब किसान र मजदुर पनि यही देशका नागरिक भएकाले उनीहरूको अधिकार र सम्मानको संरक्षण गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।

Back To Top
Modern Footer Design