डीडीसी प्रतिवेदन सार्वजनिक गर्न चौलागाईंको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानले पाउनुपर्ने बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले २०८१ सालमा डीडीसीभित्र भएको भनिएको अनियमितताको अनुसन्धान गर्न समिति गठन गरेको स्मरण गराए। उक्त समितिले मेसिन तथा उपकरण खरिद प्रक्रियामा करिब १ करोड १७ लाख रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाइसकेको भए पनि त्यसलाई सार्वजनिक नगरिएको उनको भनाइ थियो।

सांसद चौलागाईंले प्रतिवेदन सार्वजनिक नहुनुको कारणबारे प्रश्न उठाउँदै दोषीमाथि कारबाही कहिले हुन्छ र दूध किसानले आफ्नो बक्यौता रकम कहिले पाउँछन् भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। त्यसैगरी, उनले रोजगारीको खोजीमा भारत पुगेका काभ्रेको नवबुद्ध गाउँका एक नेपाली युवाको शंकास्पद मृत्युबारे पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले स्वदेशमा रोजगारीको अभावका कारण नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै भारतमा भएको उक्त घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने माग गरे। साथै, पीडित परिवारले घटनाप्रति शंका व्यक्त गरिरहेको अवस्थामा सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

Back To Top
Modern Footer Design